काठमाडौँ। लगातार दुई दिनसम्म बढ्दो क्रममा रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (सोमबार) फेरि घटेको छ। तापक्रममा आएको यस गिरावटले उपत्यकामा चिसो अझ बढ्ने संकेत देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५ बजेर ४५ मिनेट जाँदा काठमाडौँको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन गरिएको छ। हिजो (आइतबार) यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस रहेको थियो।
यद्यपि आइतबार बिहान ८ बजेर ४५ मिनेट जाँदा तापक्रम केही घटेर ८.८ डिग्री सेल्सियस कायम भएको थियो। आजको आधिकारिक न्यूनतम तापक्रम भने बिहान ८:४५ बजे सार्वजनिक हुने मौसमविद्हरूले बताएका छन्। सो समयमा अहिले देखिएकोभन्दा तापक्रम अझै केही कम हुन सक्ने सम्भावना रहेको महाशाखाको अनुमान छ।
यसअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस सम्म झरेको थियो। शनिबार यो बढेर ६.९ डिग्री सेल्सियस पुगेको थियो भने आइतबार थप बढ्दै ८.८ डिग्री सेल्सियस पुगेको थियो। तर आजको सुरुवातमै आइतबारको तुलनामा तापक्रम कम देखिएको हो।
मौसमविद्हरूका अनुसार न्यूनतम तापक्रम आकाशको अवस्थासँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ। राति आकाशमा बादल लाग्दा तापक्रम केही बढ्ने गर्छ भने आकाश खुला र सफा रहँदा बिहानको न्यूनतम तापक्रम घट्ने गर्छ।
त्यसको ठीक उल्टो अवस्था दिउँसो देखिन्छ। दिउँसो बादल लागेमा घाम नदेखिने भएकाले अधिकतम तापक्रम घट्छ भने आकाश सफा रहँदा घाम लाग्ने कारण अधिकतम तापक्रम बढ्ने गर्छ।
सबैभन्दा तल झरेको तापक्रमलाई न्यूनतम तापक्रम र सबैभन्दा माथि पुगेको तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। मौसम महाशाखाले काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम दैनिक रूपमा मापन गर्दै आएको छ।
महाशाखाका अनुसार न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
-
Jigyasanepal