Breaking News
एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||     तिथि वृद्धिले फेरियो दसैँको पूजाविधि, आज पनि महाअष्टमीकै कर्म गर्नुपर्ने    ||     आज महाअष्टमी, महागौरी देवीको पूजा आराधना गरिँदै    ||     आज फूलपाती, कालरात्रि देवीको आराधनासँगै दसैँको रौनक बढ्दै    ||     नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको आराधना, शक्तिपीठमा भक्तजनको चहलपहल    ||     हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्न सक्ने    ||     नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको आराधना, शक्ति र समृद्धिको कामनासहित पूजा गरिँदै    ||     आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||    

तिथि वृद्धिले फेरियो दसैँको पूजाविधि, आज पनि महाअष्टमीकै कर्म गर्नुपर्ने

  •   ४ दिन अघि | ३ कार्तिक २०८३, सोमवार

काठमाडौँ, कात्तिक २। यस वर्ष तिथि वृद्धि भएका कारण बडादसैँको पूजाविधिमा असामान्य अवस्था देखिएको छ। नवरात्रको नवौँ दिन मानिने आज सोमबार पनि महाअष्टमीकै विधिअनुसार पूजा–आराधना गर्नुपर्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएकाले दसैँघर तथा पूजाकोठामा अघिल्लो दिनकै धार्मिक कर्म दोहोर्‍याउनुपर्ने भएको हो।

धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आज पनि नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा गर्नुपर्नेछ। नवरात्रको गणना र तिथिको अवस्थाका कारण आज नवौँ दिन परे पनि पूजा–विधि भने महाअष्टमीकै अनुसार गर्नुपर्ने उनको भनाइ छ।

किन दोहोर्‍याउनुपर्‍यो महाअष्टमी?

पञ्चाङ्गमा तिथि वृद्धि हुँदा एउटै तिथि दुई दिनसम्म पर्न सक्छ। यस वर्षको बडादसैँमा महाअष्टमी तिथि दुई दिन परेकाले धार्मिक अनुष्ठानको तालिका पनि प्रभावित भएको हो।

कात्तिक १ गते महाअष्टमीका रूपमा गरिएका पूजा तथा अन्य कर्म आज पनि दोहोर्‍याउनुपर्ने व्यवस्था स्वीकृत पात्रोमा उल्लेख छ। यसअनुसार दसैँघर र पूजाकोठामा महागौरी देवीको आराधना, दुर्गा पूजा तथा परिवारको परम्पराअनुसार गरिने अन्य अनुष्ठान महाअष्टमीकै विधिअनुसार सम्पन्न गरिनेछ।

धर्मशास्त्रविद्हरूका अनुसार देवीको साधना र पूजाआराधनाका लागि एक दिन थपिनुले धार्मिक दृष्टिले बाधा उत्पन्न गर्दैन। तिथि र परम्पराअनुसार निर्धारित कर्म गर्नु नै मुख्य विषय भएको उनीहरूको भनाइ छ।

हनुमानढोकामा कालरात्रि पूजा आज राति

काठमाडौँस्थित हनुमानढोका दरबारमा राज्यका तर्फबाट गरिने कालरात्रि पूजा भने आज सोमबार राति गरिने भएको छ। दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँगको परामर्श र तलेजुका पुजारीले पालना गर्ने परम्पराअनुसार पूजा आज राति गर्ने निर्णय गरिएको हो।

हनुमानढोकामा महाअष्टमीको पूजा सम्पन्न भएपछि अर्को दिन महानवमीको पूजा–आराधनासहितका कर्म गर्ने परम्परा छ। यही परम्परालाई ध्यानमा राखेर दरबारको दसैँघरमा आइतबार सामान्य पूजा गरिएको र मूल पूजा सोमबार गर्ने तयारी गरिएको जनाइएको छ।

हनुमानढोकामा महाअष्टमीको राति विशेष पूजा–आराधना गर्ने परम्परा छ। परम्पराअनुसार १०८ पशुबलिसहित पूजा गरिने धार्मिक विधि पनि यससँग जोडिएको छ।

यस वर्ष दसैँमा १० रातका जमरा

महाअष्टमी तिथि दुई दिन परेपछि यस वर्ष नवरात्रको अवधि पनि सामान्य वर्षभन्दा लामो बनेको छ। यसलाई दसरात्रका रूपमा लिन सकिने धार्मिक व्याख्या गरिएको छ। त्यसैले विजयादशमीका दिन टीका लगाउँदा १० रातका जमरा लगाइने भएको छ।

नवरात्रमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नवदुर्गाका नौ स्वरूपको पूजा गर्ने परम्परा छ। तिथि वृद्धिका कारण यस वर्ष पूजाको क्रम र अनुष्ठानका दिनमा केही फरक देखिएको हो।

दसैँको पूजाविधि तिथि, पञ्चाङ्ग र परम्परामा आधारित हुने भएकाले धार्मिक कर्म गर्दा स्वीकृत पात्रो तथा सम्बन्धित धर्मशास्त्रविद् वा पुरोहितको निर्देशनअनुसार अघि बढ्नुपर्ने हुन्छ।

  • Jigyasanepal

थप