तस्बिर : AI
काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकअन्तर्गत आज आइतबार कुकुर तिहारसँगै लक्ष्मीपूजा पनि मनाइँदैछ। तिथि घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको हो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान कुकुरको पूजा गरी साँझ धनधान्यकी देवी महालक्ष्मीको आराधना गर्नुपर्नेछ। आइतबार दिउँसो चतुर्दशी तिथि र साँझ औँसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रूपमा दुवै पर्व एकैदिन मनाउने निर्णय गरिएको हो।
यमपञ्चकको दोस्रो दिन आज कुकुरलाई यमराजको दूतका रूपमा सम्मान गर्दै पूजा गर्ने धार्मिक परम्परा छ। कुकुरलाई फूलमाला लगाइदिने, टीका लगाउने तथा मिठामिठा खानेकुरा खुवाएर पूजा गरिन्छ।
त्यसैगरी साँझ ऐश्वर्य, धनधान्य र समृद्धिकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ। लक्ष्मीको स्वागतका लागि बिहानैदेखि घरआँगन सफा गर्ने, लिपपोत गर्ने र साँझ घरका विभिन्न स्थानमा दीप प्रज्वलन गर्ने चलन छ।
धार्मिक मान्यताअनुसार सफासुग्घर र उज्यालो घरमा लक्ष्मीको वास हुन्छ। त्यसैले घरका झ्यालढोका, चोटाकोठा, सँघार, कौसी, अटाली तथा भर्याङलगायत स्थान सफा गरी दीपावली गरेर लक्ष्मीलाई घरमा आमन्त्रण गरिन्छ।
लक्ष्मीपूजाको साँझ घरघरमा दीप प्रज्वलन गरी धनधान्यकी देवीको आराधना गरिन्छ। यसै अवसरमा युवतीहरू समूह बनाएर घरघरमा पुग्दै भैलो खेल्ने परम्परा पनि रहेको छ।
धार्मिक विश्वासअनुसार भगवान् विष्णुबाट यमपञ्चकका पाँच दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले आफ्नो राज्यमा भलो होस् भन्ने उद्देश्यले घरघरमा भैलो खेल्न लगाएको सम्झनामा यो परम्परा सुरु भएको मानिन्छ।
भैलो खेल्न आउने समूहलाई धान, चामल, फूलमाला, पैसा तथा सेलरोटी दिने चलन छ। कात्तिक महिनामा गरिने दानलाई पुण्यदायी मानिने धार्मिक विश्वासका कारण भैलो खेल्न आउनेलाई दानदक्षिणा दिने परम्परा पुस्तौँदेखि चल्दै आएको छ।
यसरी आज बिहान कुकुरको पूजा र साँझ लक्ष्मीको आराधनासँगै तिहारको धार्मिक तथा सांस्कृतिक उल्लास थपिनेछ।
-
Jigyasanepal