Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

एसईई परीक्षा: तयारी पूरा, सहभागी संख्यामा वृद्धि

  •   २ वर्ष अघि | ४ चैत्र २०८१, सोमवार

काठमाण्डौ ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। चैत ७ गतेदेखि देशभर सञ्चालन हुने परीक्षाका लागि आवश्यक सामग्री जस्तै प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका लगायतका सामग्री प्रत्येक जिल्लामा पठाइसकिएको छ।

परीक्षार्थी संख्यामा वृद्धि

परीक्षा नियन्त्रण कार्यालय, कक्षा-१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार, गत वर्षको तुलनामा यो वर्ष परीक्षार्थीको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ। २०८० सालमा चार लाख ६४ हजार सात सय ८५ विद्यार्थी सहभागी भएका थिए भने यस वर्ष ४९ हजार दुई सय ८६ जना थपिँदै परीक्षार्थी संख्या पाँच लाख १४ हजार ७१ पुगेको छ।

परीक्षा केन्द्र र व्यवस्थापन

यस वर्ष देशभर दुई हजार ७९ परीक्षा केन्द्र तोकिएको छ। परीक्षाका लागि १५० जना सम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष खटाइनेछ भने प्रत्येक २० जना विद्यार्थीका लागि एक जना निरीक्षक रहनेछन्। ७५ जनाभन्दा कम परीक्षार्थी भएका केन्द्रमा भने सहायक केन्द्राध्यक्ष नखटाइने व्यवस्था गरिएको छ।

विशेष केन्द्रको व्यवस्था

यस पटक बाल सुधार गृह तथा कारागारमा समेत परीक्षा केन्द्र तोकिएको छ। काठमाडौँ र दैलेखका कारागार तथा भक्तपुरको बाल सुधार गृहमा समेत परीक्षार्थीलाई परीक्षा दिन सकिने व्यवस्था गरिएको छ।

कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनका चार जना एचआईभी संक्रमित विद्यार्थी पनि यस वर्ष एसईईमा सहभागी हुँदैछन्।

परीक्षा तालिका

एसईई परीक्षा चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ। पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत, तथा मदरसातर्फ अनिवार्य अरबी भाषा परीक्षा हुनेछ। चैत ८ गते अनिवार्य नेपाली, चैत १० गते अनिवार्य गणित, चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि, चैत १३ गते अनिवार्य सामाजिक, चैत १४ गते ऐच्छिक प्रथम, चैत १५ गते ऐच्छिक द्वितीय विषयको परीक्षा तोकिएको छ।

नतिजा प्रकाशन र उत्तीर्ण दर

यस वर्ष पनि लेटर ग्रेडिङ प्रणालीअनुसार परीक्षाफल प्रकाशन गरिनेछ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार, उत्तीर्ण दर ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ। गत वर्ष मात्र ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।


  • Jigyasa media

थप