काठमाडौं । देशका विभिन्न प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आज आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भू–भागमा पनि आंशिक बादल लाग्ने अनुमान गरिएको छ। देशका अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति देशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। रातिको समयमा गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।
यसैबीच तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।
मौसममा हुने परिवर्तनका कारण हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
-
Jigyasanepal