Breaking News
प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै, आज नयाँ दिल्ली प्रस्थान गर्ने    ||     सुदूरपश्चिमको ऐतिहासिक छलाङ : लुम्बिनीलाई १० विकेटले हराउँदै पहिलोपटक एनपीएल च्याम्पियन    ||     एनपीएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले उचाल्ला ट्रफी ?    ||     आज देशभरको मौसम मुख्यतया सफा रहने, वर्षा र हिमपातको सम्भावना न्यून    ||     तुलसी–दामोदरको विवाह गराउँदै आज देशभर हरिबोधिनी एकादशी मनाइँदै    ||     ‘अक्वान’ चक्रवात र पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र तुवाँलो    ||     पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना    ||     पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा तुवाँलो र बिहान हुस्सु लाग्ने    ||     उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न    ||     कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||    

मिथिलामा धनतेरससँगै तिहारको रौनक, घरघरमा दीप प्रज्वलन गरी पर्वको सुरुवात

  •   २ हप्ता अघि | २० कार्तिक २०८३, शुक्रबार

तस्बिर AI

महोत्तरी । नेपालीको दोस्रो ठूलो चाड तिहारको चहलपहल सुरु भएको छ। मधेस प्रदेशका महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा शुक्रबार धनतेरस मनाइँदै छ। नयाँ धातुका भाँडाकुँडा तथा गरगहना खरिद गर्ने र साँझ घरघरमा दीप प्रज्वलन गर्ने परम्परासँगै मिथिलामा तिहारको औपचारिक सुरुवात भएको हो।

मिथिला परम्पराअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिमा धनतेरस मनाइन्छ। यस दिन धनधान्यकी देवी लक्ष्मीलाई प्रसन्न पार्ने विश्वासका साथ नयाँ धातुका सामग्री खरिद गरी पूजा गर्ने चलन छ। घरको सरसफाइ गरी दीपमालिका सजाउने र धनधान्यको कामना गर्दै पूजा गर्ने परम्परा पनि यस पर्वसँग जोडिएको छ।

यस वर्ष तिथिको घटबढका कारण तिहारको अवधि सामान्यभन्दा फरक बनेको छ। चन्द्रमासअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने तिहार यसपटक तिथिको व्यवस्थाका कारण छ दिनसम्म चल्ने भएको छ।

मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाका अनुसार शुक्रबार बिहान सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी सुरु हुने भएकाले धनतेरस शुक्रबार नै मनाउन लागिएको हो। पञ्चाङ्गअनुसार शुक्रबार बिहान ११ बजेर १० मिनेटपछि सुरु हुने त्रयोदशी शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ।

धनतेरसका दिन धातुका भाँडाकुँडा, सुनचाँदीका गरगहना, खरेटो र धनियाँलगायत सामग्री नयाँ किन्ने चलन छ। नयाँ सामग्री घरमा भित्र्याउँदा सुख, समृद्धि र आर्थिक उन्नति हुने धार्मिक विश्वास मिथिला क्षेत्रमा रहिआएको छ।

मिथिलामा चाडपर्व, तिथिश्राद्ध तथा शुभकार्यको मिति निर्धारण गर्दा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गलाई आधार मान्ने प्रचलन छ। त्यसैले अन्य क्षेत्रको भन्दा यहाँका केही पर्व र पूजाका दिनमा भिन्नता देखिन सक्छ।

यसपटक त्रयोदशी तिथिमा गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ। आइतबार चतुर्दशीका दिन कुकुर पूजा गरिनेछ भने सोही दिन साँझ लक्ष्मीपूजा गर्ने मैथिल परम्परा छ।

दीपावलीको मुख्य दिन लक्ष्मीपूजासँगै घर, आँगन र बस्तीलाई दीपले झिलिमिली बनाउने तयारी गरिएको छ। मिथिला परम्पराअनुसार आगामी बुधबार भैयादूज मनाएपछि यस वर्षको दीपावली पर्व सम्पन्न हुनेछ।

धनतेरसबाट सुरु हुने दीपावलीले मिथिलाका गाउँबस्तीमा धार्मिक आस्था, पारिवारिक भेटघाट र सांस्कृतिक उत्सवको वातावरण सिर्जना गरेको छ।

  • Jigyasanepal

थप