काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार अर्थात् यमपञ्चकको पहिलो दिन आज शनिबार काग तिहार मनाइँदै छ । कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यस पर्वमा बिहानै कागलाई यमराजको दूतका रूपमा पूजा आराधना गरी मीठा खानेकुरा खुवाउने धार्मिक परम्परा रहेको छ ।
सूर्योदयकालमा त्रयोदशी तिथि परेका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यताअनुसार यस वर्ष शनिबार पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले जानकारी दिएका छन् ।
धार्मिक मान्यताअनुसार यमराजले पृथ्वी लोकको खबर कागमार्फत प्राप्त गर्ने भएकाले कागलाई यमदूतका रूपमा लिने गरिन्छ । कागले यमराजसमक्ष शुभ समाचार पुर्याओस् भन्ने कामनासहित आजका दिन कागको पूजा गरी मीठा–मीठा खानेकुरा अर्पण गर्ने चलन छ ।
लोकव्यवहारमा पनि काग घरआँगन वा वरपर आएर कराएमा शुभ समाचार आएको विश्वास गर्ने प्रचलन छ । काग कराउँदा ‘शुभ बोल, शुभ बोल’ भन्ने चलनसमेत नेपाली समाजमा प्रचलित छ ।
काग तिहारका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजाआराधना गरिन्छ । त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गर्ने परम्परा छ ।
तिहार पर्व यमराजको न्याय र धर्मराजको संरक्षणसम्बन्धी धार्मिक विश्वाससँग पनि जोडिएको छ । दुष्कर्म गर्नेहरूलाई यमराजले दण्ड दिने र सत्कर्म गर्नेहरूको धर्मराजका रूपमा रक्षा गर्ने मान्यता यस पर्वसँग गाँसिएको छ ।
यम यातनाबाट मुक्ति मिल्ने धार्मिक विश्वासका साथ परिवारका सबै सदस्यका नाममा यमदीपदान गर्ने परम्परा पनि रहेको छ । यस वर्ष यमदीपदान शुक्रबार साँझदेखि नै सुरु भएको छ । वैदिक सनातन शास्त्रीय विधिअनुसार यमदीप दक्षिण दिशातर्फ फर्काएर दान गर्नुपर्ने मान्यता छ । यमदीपदान गरेमा यमयातनाबाट मुक्ति प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।
यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कात्तिक कृष्ण त्रयोदशी परेको दिनदेखि नै यमपञ्चक अर्थात् तिहार शुक्रबार बेलुकीबाट सुरु भएको हो । यही अवसरमा धन र समृद्धिकी देवी लक्ष्मीलाई घरमा स्थिर गराउने विश्वासका साथ मनाइने धनतेरस पर्व पनि शुक्रबार नै मनाइएको छ ।
धनतेरसका दिन सुनचाँदीका गरगहना तथा तामाका भाँडाकुँडा खरिद गर्दा घरमा लक्ष्मीको वास हुने र धनसम्पत्ति स्थिर रहने धार्मिक विश्वास छ ।
यसरी कागको पूजा, यमदीपदान र धनतेरसजस्ता धार्मिक तथा सांस्कृतिक परम्परासहित यस वर्षको तिहार पर्व सुरु भएको छ ।
-
Jigyasanepal